विश्वको सबैभन्दा खुसी देश फिनल्यान्ड ठहरिएको छ । विश्वमा कुन देशका मानिसहरू कति खुशी छन् भनेर गरिएको एक अध्ययनले यस्तो देखाएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ को पहिलो नम्बरमा पर्न सफल फिनल्यान्ड यसरी नै विश्वकै खुसी देश ठहरिएको यो लगातार पाँचौँ पटक हो ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ, औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र समाजमा भ्रष्टाचारको अवस्थाजस्ता विभिन्न तत्वहरुका आधारमा खुसीपन मापन गरी १५० वटा देशहरुलाई क्रमबद्ध गरिएको हुन्छ ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ ।
यस्तो छ नेपालको अवस्था
नेपाल सूचीको ८५ औँ स्थानमा छ । दक्षिण एसियाली देशहरूलाई हेर्दा भने नेपाल पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन । नेपालपछि बल्गेरिया र माल्दिम्भ छन् । सूचीमा बङ्गलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।
सूचीमा सबैभन्दा पछाडि परेको अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देशमा परेको छ । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने रुस ७४ औँ स्थानमा छ ।