अफगानिस्तानको सत्ता कब्जा गर्न सफल तालिबानहरूले विगतमा त्यहाँ तैनात नेटो सैनिक तथा तत्कालीन अफगान प्रशासनलाई सघाउने व्यक्तिहरूको खोजी गर्न थालेको भन्दै संयुक्त राष्ट्रसंघसम्बद्ध एक संस्थाले पत्रमार्फत सचेत गराएको छ। पत्रमा तालिबानहरू घरघरमा गएर त्यस्ता व्यक्तिहरुको खोजी गरिरहेको उल्लेख छ।
बीबीसीका अनुसार तालिबानले अहिले खोजिरहेका व्यक्तिहरूको संख्या निकै ठूलो भएको रिप्टो नामक सो संस्थाका प्रमुख क्रिस्टिएन नेल्लम्यानले बताएका छन्।
तालिबानको खोजीको सूचीमा रहेका व्यक्तिहरूले आत्मसमर्पण नगरेमा उनीहरूलाई खोजेर गिरफ्तार गर्ने र मृत्युदण्डसम्म दिने तथा परिवारका सदस्यसँग पनि सोधपुछका साथै उनीहरूलाई पनि दण्डित गर्ने कुरा तालिबानहरूले लिखित रूपमै राखेको उनले बताएका छन्। साथै तालिबानको कालोसूचीमा परेका व्यक्तिहरूको संख्या निकै ठूलो रहेको र उनीहरू गम्भीर खतरामा रहेकोतर्फ उनले सचेत गराएका छन्।
तालिबानहरूले काबुललाई नियन्त्रण गरेपछि गरेको पत्रकार सम्मेलनमा अब युद्ध अन्त्य भएको र कसैलाई पनि बदलाको भावनाले कारबाही नगरिने भनी आश्वस्त बनाउन खोजेका थिए। उनीहरूले सेना, प्रहरीमा रही पहिलेको सरकारलाई सघाएका वा अन्य सबैलाई आममाफी दिने बताएका थिए। उनीहरूले शरीया कानून अनुसार महिलाहरूको अधिकारको सम्मान हुने र उनीहरूलाई पूरै शरीर ढाक्ने गरी बुर्का लगाउन बाध्य नपारिने पनि बताएका थिए। अन्तर्राष्ट्रिय समुदायसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने उनीहरूको भनाइ थियो।
तर उनीहरूको विगतलाई हेर्दा भनाइ र गराइमा तालमेल होला भन्नेमा धेरैलाई आशङ्का छ। २ दशक अघि उनीहरू सत्तामा रहँदा निकै क्रूरतापूर्वक शासन गरेका थिए। त्यसैले ठूलो संख्यामा अफगानीहरू अहिले देश छोडेर अन्य देशमा आश्रय लिन गैरहेका छन्। अफगानिस्तानसँग सीमा जोडिएका देशहरूलाई अफगान शरणार्थीहरूका लागि आफ्ना सीमा बन्द नगरिदिन संयुक्त राष्ट्रसंघले आग्रह गरिरहेको छ।
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएदेखि नै अमेरिका, बेलायतलगायतका पश्चिमा मुलुकहरू आआफ्ना नागरिकहरूलाई अफगनिस्तानबाट फिर्ता गर्नमा सक्रिय छन्। चीन, रसियालगायतका केही मुलुक बाहेक अन्य धेरै देश पनि आफ्ना नागरिकलाई फिर्ता गराउनेमा जुटेका छन्। हालसम्म १८ हजार भन्दा बढी मानिसलाई अफगानिस्तानबाट अन्यत्र लगिसकिएको नेटोका एक अधिकारीले बताएका छन्।
तालिबानले गत आइतबार काबुललाई नियन्त्रमा लिएपछि अफगानिस्तानको सत्ता उनीहरूको हातमा आएको हो। सन् १९९६ देखि अफगानिस्तानको सत्तामा रहेका तालिबानलाई सन् २००१मा अमेरिकी नेतृत्वको नेटो सैनिकहरूले हस्तक्षेप गरी सत्ताच्युत गरेपछि उनीहरू २० वर्षसम्म सशस्त्र विद्रोहीको रूपमा सीमित स्थानमा रहँदै आएका थिए।
तर डेढ महिनाअघि अमेरिकाले आफ्ना सैनिक फिर्ता गरेपछि उनीहरू एकाएक विभिन्न स्थानहरू जित्दै काबुलमा नियन्त्रण गर्न सफल भएका हुन्।