ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पर्ने याङ्मा गाउँ चौँरी पालनको लागि चिनिएको गाउँ हो। यो गाउँमा ११ घरपरिवार छन्। सबैको मुख्य पुर्ख्यौली पेशा चौँरीपालन नै हो ।
चीनसँगको सीमामा पर्ने यस गाउँका चौँरीपालक किसानले वर्षौंदेखि आफ्ना चौँरी चीनतर्फ बिक्री गरेर अर्थोपार्जन गर्दै आएका हुन्। तर कोभिडका कारणले दुई वर्षयता चीनतर्फको नाका बन्द छ। त्यसैले चौँरी निर्यात हुन सकेको छैन र यहाँका बासिन्दाको आर्थिक स्रोत पनि सुकेको छ। स्थानीय चौँरी पालक किसान भन्छन् - गोठबाट दुई वर्षयता याक-चौँरीहरूको बिक्री भएको छैन ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र चौँरीपालनका लागि अनुकूल छ । याङ्माका प्रत्येक परिवारको चौँरी गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत पशुपालन हो । चौँरीका बाछा, याक, घ्यू, छुर्पी, चमर (चौँरीको पुच्छर) चीनको विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको थियो । चौँरीको बाछो एक लाख रुपैयाँसम्ममा चीनमा बिक्री हुने गरेको स्थानीय सोनाम शेर्पाले बताउनुभयो । चौँरीको घ्यू र छुर्पी प्रतिकिलो १ हजार २०० रुपैयाँमा बिक्री हुने गरेको छ ।
फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पाले चौँरी गोठमै ६५ वर्ष बिताइसक्नुभएको छ । शेर्पासँग ६० वटा डी (माउ चौँरी) छन् । चिनतर्फ बिक्री नभएपछि अहिले आम्दानीको स्रोत नै सुकेको उहाँ बताउनुहुन्छ।
फिन्जो शेर्पाको परिवार नै अहिले चौँरी गोठमा छ । गोठमै चौँरीका बाछा स्याहार्न, दुहुनो चौँरी दुहुन र छुर्पी बनाउँदै दिन बित्छ । घरमा तालै लागेको छ। उहाँले पनि चौँरी गोठबाट आम्दानी लिन सक्नुभएको छैन ।
पशुजन्य उत्पादनबाट याङ्मागाउँका समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका हुन् । कोभिड–१९ का कारणले चीनसँगको तिप्ता-ला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक सङ्कट लाग्न थालेको छ । उनीहरू वितगमा चौँरी बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाटै किनेर ल्याउँथे । तर दुई वर्षयता खाद्यान्नलगायतका वस्तु ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट किनेर लैजानु परेको छ, जुन निकै टाढा पर्छ। त्यहाँदेखि खाद्यान्न लैजाँदा ढुवानी खर्च नै खरिद मूल्यभन्दा तीन गुणा बढी पर्नेगरेको उनीहरूको दुःखेसो छ। एक त आमदानी सुकेको अवस्था त्यसमाथि आवश्यक खाद्यान्नको मूल्य पनि तीन गुणा बढी पर्ने। आफुहरू दोहोरो मारमा परेको उनीहरूको दुःखेसो छ।