यस वर्ष अधिवक्ताको परीक्षा उत्तीर्ण गरेका ११ सय ३ जना वकिललाई नेपाल बार काउन्सिलले पूर्वव्यावसायिक तालिम दिएको छ । काउन्सिलले संचालन गरेको परीक्षामा करीब ५० प्रतिशतको संख्यामा उत्तीर्ण भएकाहरुलाई अधिवक्ताको तालिम दिइएको हो । परीक्षामार्फत् कानून व्यवसायको प्रमाणपत्र प्राप्त गर्ने २९ औं समूहलाई ९ वटा कक्षामा राखेर विभिन्न कानूनविदले प्रशिक्षित गरेका छन् ।
काउन्सिल अध्यक्ष तथा महान्यायधिवक्ता खम्मबहादुर खातीले तालिम उद्घाटन गर्दै न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताए । उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिए ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भीक भएर काम गर्नुपर्ने बताए । उनले न्यायपालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको पनि चर्चा गरेका थिए ।
बार काउन्सिलका पार्षद वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र नेपाल बारका महासचिव लीलामणि पौडेल तथा उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विनोद शर्मा तथा सर्वोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेल लगायतले वकिलहरुलाई तालिमको महत्वबारे व्याख्या गरेका थिए ।
कार्यक्रममा नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक महान्यायाधिवक्ता खातीले विमोचन गरेका थिए । उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञवाली र अधिवक्ता पूजा भण्डारीले तयार पारेका हुन् ।
पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवसायीको आचार संहितालगायत विषय समावेश गरिएको छ । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायीले प्रमाणपत्र प्राप्त गरेका छन् भने करिब ११ हजारले प्रमाणपत्र अद्यावधिक गरेर राखेका छन् ।