काठमाडौंका विभिन्न ठाउँमा मानिसका आँखामा खुर्सानीको धूलो छर्किएर सुन र नगद डाँका चोरी गर्दै आएको गिरोहको एक जनालाई काठमाडौंमै र अर्कोलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट डाँका गर्न प्रयोग भएका खुँडा र तरबार तथा नगद र सुन बरामद भएको छ ।
पक्राउ गरिएकाहरुमा दाङ सौडियार गाउँपालिका-६ घर भई हाल काठमाडौ-१० शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगर-८ रतनपुर बस्ने २४ वर्षीय राजेन्द्र ठकुरी रहेको प्रहरीले जनाएको छ ।
डाँका गर्न प्रयोग भएको अपाचे मोटरसाइकल वा ७४ प ९५६० र पल्सर मोटरसाइकल रा ४ प ११२० पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगद १ लाख ६६ हजार रुपैयाँ र सुन जस्तो पहेंलो धातुहरु २ सय ६१ ग्राम पनि बरामद भएको प्रवक्ता मैनालीले जानकारी दिए ।
फागुन २५ गते राति साढे ८ बजेको समयमा चाबहिलस्थित ओम शाही टञ्च सेन्टरका सुन पसले अमोल भोस्लेको आँखामा खुर्सानीको धूलो छर्किएर कुटपीट गरी सुन र नगद भएको झोला लुटेर फरार भएको मोटरसाइकल खोज्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन पसल बन्द गरी डेरातर्फ गैरहेका भारतीय नागरिक भोस्लेको ४२ तोला सुन र नगद १२ लाख रुपैयाँ रहेको झोला उनीहरुले डकैती गरी भागेको उजुरी छ । भोस्ले सवार स्कुटीलाई चुच्चेपाटीको पार्किङस्थल जाने क्रममा स्कुटी रोकी आक्रमण गरेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका अधिकृतसहितको प्रहरी टोली तत्कालै परिचालित गरेर डाँका गिरोहका २ जनालाई पक्रिने सफलता मिलेको प्रवक्ता मैनालीले बताए । डाँका गिरोहले ३ दिनअघिदेखि सुन पसलनजिकैको क्याफेमा बसेर रेकी गरी डकैतीको योजना बनाएको प्रहरी भनाइ छ ।
डकैती गिरोहका अन्य सदस्यहरुको तीब्रतासाथ खोजी भैरहेको प्रवक्ता मैनाली बताउँछन् । गिरोहले अन्य ठाउँमा गरेका वारदातबारे पनि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसरले उल्लेख गरेको छ ।