नेपाल इन्जिनीयरिङ परिषदले आठ जना 'इन्जिनीयर'को लाइसेन्स खोसेको छ । सिभिल इन्जिनीयर ६ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनीयर भनी परिषदमा दर्ता भएका ८ जनाले कीर्ते प्रमाणपत्र पेश गरी दर्ता गराएको देखिएकोले दर्ता खारेज गरेको परिषदे सूचना प्रकाशित गरी जनाएको हो ।
ब्याचलर अफ इन्जिनीयरिङ भनेर पेश गरिएका प्रमाणपत्र कीर्ते फेला परेका हुन् । धोखा दिई नाम दर्ता गराएको परिषदको सूचनामा उल्लेख छ । कीर्ते प्रमाणपत्र पेश गरी धोखा दिएको भनिएकाहरुमा शेखर पंजियार, मनिषकुमार यादव, सन्तोष लामा, सुरज सिंखडा, सन्देश घिमिरे, अविनाश गौचन, श्रीराम आचार्य र विशाल श्रेष्ठ रहेको परिषदे सूचनामा बताएको छ ।
उनीहरुको नाम दर्ता किताबबाट हटाइएको परिषदको भनाइ छ ।
चिकित्सक र वकिलको लाइसेन्सको लागि स्नातक प्रमाणपत्र पेश गरी काउन्सिल परीक्षा पनि उत्तीर्ण गर्नु पर्ने चलन छ । इन्जिनीयरले भने परीक्षा दिनु पर्ने व्यवस्था छैन । परीक्षाको व्यवस्था नहुँदा प्रमाणपत्र मात्रै पेश गरेर इन्जिनीयरिङ काउन्सिलले प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।
परीक्षा नहुँदा नक्कली प्रमाणपत्र पेश गरेर इन्जिनीयरको पेशागत प्रमाणपत्र (लाइसेन्स) प्राप्त गर्न सहज बनेको छ । पुल र सडक निर्माण सम्पन्न नहुँदै भत्किनुमा नक्कली इन्जिनीयरको भूमिका रहेको अनुमान पनि गर्ने गरिएको छ ।
उजुरी परेर छानबिन नहुँदासम्म इन्जिनीयरको क्षमता परीक्षण हुन नसकेकोले नक्कली इन्जिनीयरको संख्या धेरै नै रहेको हुन सक्ने चर्चा इन्जिनीयरहरुबीचमै हुने गरेको छ ।