कोरियाली भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।
कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।
कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।
सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ। ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ।
परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।
भाषा परीक्षा भनिएपनि कोरिया जान पाउन नपाउने अन्तिम चयन भने परीक्षार्थीको शरीरको बल र सुदृढ मन जाँचेर मात्रै गर्ने गरिएको छ । कोरियाली नागरिकबाट हुन नसकेका कामका लागि नेपालीलाई लाने गरिएको छ । कमजोर शरीर र अस्थिर मन भएकाहरुले आत्तिएर आत्महत्या समेत गर्न सक्ने भएकोले अन्तिम छनौटमा भाषाबाहेकका कुरालाई समेत छनौटको आधार बनाइने गरेको छ ।
कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा जनशक्तिको अभाव पूरा गराउन कोरियाले नेपालीहरुलाई भाषा र सीप परीक्षणमार्फत् छान्ने गरेको छ । उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) भनेको मेशिनरी सञ्चालन गरी उद्योगमा गरिने काम हो ।