प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ । जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेस गरेका हुन् । न्यायालयको विकृति विसङ्गति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकार अनुसार काम गर्न नसक्दा न्याय सम्पादनमा आँच आएकोले महाभियोग प्रस्ताव ल्याइएको गुरुङले बैठकमा जानकारी दिए ।
प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको, उनका कार्य एकपछि अर्काे विवादास्पद बनेको र उनकै कारणले न्याय क्षेत्र अस्तव्यस्त बनेको गुरुङले बताए । प्रधान न्यायाधीश राणामा पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमतासमेत नदेखिएको कारणले निजलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार र कारण एवं अवस्था विद्यमान रहेको जिकिर प्रस्तावमा गरिएको छ ।
महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्दै उनले यसलाई पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर यही फागुन १ गते जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरिएको थियो ।
उक्त महाभियोग प्रस्तावमाथि सदनको आगामी बैठकमा छलफल गरिने जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका छन् । प्रतिनिधिससभाको अर्को बैठक आउँदो चैत २ गते बुधबार दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।
एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका थिए । बैठकमा सभामुख सापकोटाले संसद्मा निरन्तरको नाराबाजी र अवरोध हटाएर सदनलाई जनताका काममा प्रभावकारी बनाउने काममा सघाउन प्रमुख प्रतिपक्षको रूपमा रहेको नेकपा एमालेलाई विशेष आग्रह गरेका थिए ।