नेकपा (एमाले) निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् ।
ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्याउने सङ्केत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला ।’
उनले बस्नेतलाई रुचाएपछि एमाले उपमहासचिव तथा चौतारीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका गणेश पाण्डेलाई उपाध्यक्षमा बस्न सहमत गराएका थिए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए । अध्यक्षमा वस्नेतसहित सबै पदाधिकारीको टुङ्गो लागेको निर्वाचन कमिटीले जनाएको छ । राति अबेर गरी पदाधिकारीको टुङ्गो लागेको हो ।
उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । यसैगरी महासचिव हीरामान लामा र उपमहासचिव राजु सुवेदी र सुरोजजङ्ग पाण्डे छानिएका छन् । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । सचिवमा प्रदेश १ बाट विक्रम लुईँटेल, मधेश प्रदेशबाट कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुषमा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर छानिएका छन् । प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।
अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टीका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट बाहिरिएका छन् ।
उम्मेदवारी दर्ता नै नभई पदाधिकारी टुङ्गो लगाइएको असन्तुष्टहरुले बताए । सङ्गठनका नेता समेत रहेका माधवप्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै सङ्गठनबाट निष्क्रिय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नगरी अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाए ।