लमजुङमा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ । २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण सम्पन्न गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्यले जानकारी दिइन् ।
गत असारमा आएको बाढीले क्षति गरेको बाँधस्थल क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने काम भइरहेको उनले बताइन् । बाढीले क्षति गरेको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ । इलेक्ट्रो-मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको र ती सबैको सफल परीक्षणसमेत भइसकेको उनले जानकारी दिइन् ।
बेसीशहर नगरपालिका वडा नंं ११ रामचोकबेसीमा पावर हाउस रहेको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु भएको यस आयोजनाले विसं २०७५ भदौ १५ गतेदेखि नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति, कोरोना महामारीका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।
सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव ७ प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।
आयोजनाको निर्माता हिमालयन पावर पार्टनर लिमिटेड कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच वि.सं. २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।