नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र अधिकारीलाई ८७ मतले पराजित गरेका छन् । अधिकारी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
कांग्रेसको शुभेच्छुक संस्था कर्मचारी युनियन अध्यक्षमा विजयी पोखरेल संस्थापनइतर समूहका हुन् । अधिकारी भने संस्थापन पक्षका हुन् । महाधिवेशनले २९ पदाधिकारीसहित एक सय एक सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनमा जम्मा ६ सय ३३ जना प्रतिनिधि सहभागी थिए ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल र खुल्ला उपाध्यक्षमा यज्ञबहादुर ओलीलाई निर्वाचित गरेको छ । प्रदेशगत उपाध्यक्षहरूमा प्रदेश १ बाट मानबहादुर वन, मधेस प्रदेशबाट राजकिशोर राउत, बाग्मती प्रदेशबाट श्रीराम लम्साल, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।
यसैगरी सङ्घीय उपाध्यक्षमा तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार, पिछडिएको क्षेत्रबाट उपाध्यक्षमा कृष्णबहादुर सेजुवाल र श्रेणीविहीन उपाध्यक्षमा सोमनाथ कोइराला निर्वाचित भएका छन् ।
महासचिवमा जनकबहादुर रावल, उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारी, खुल्ला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल, युवा सचिवमा भूपेन्द्र अधिकारी, जनजाति सचिवमा शान्तराज राई, मधेसी सचिवमा चिन्तन अचार्य र कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् ।