प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता महाभियोग प्रस्ताव प्रतिनिधिसभाको यही फागुन २९ गते आइतबार बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले २९ गतेको बैठकमा महाभियोग प्रस्तुत भएपछि त्यसलाई सदनले सम्बन्धित समितिमा पठाउन सक्ने जानकारी दिएका हुन् ।
जबराविरुद्ध २१ वटा आरोपसहित महाभियोग प्रस्ताव ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा दर्ता गराएका थिए । ९८ सबै सांसद सत्ता गठबन्धनमा आबद्ध दलका हुन् । चोलेन्द्रविरुद्ध महाभियोग दर्तापछि दिएको प्रतिक्रियामा प्रमुख प्रतिपक्ष एमालेले षडयन्त्रपूर्वक महाभियोग प्रस्ताव दर्ता गरिएको जनाएको थियो ।
तर फागुन २३ गते सभामुखले कार्यव्यवस्था समितिमार्फत् महाभियोग सिफारिस गर्न गठित छानबिन समितिमा भने एमालेले पनि सांसद पठाएको छ । ११ सदस्यीय समितिमा समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्वाहाम्फे छन् ।
संसद्को बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको हो । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिश समिति गठन गर्ने सहमति बनेको थियो ।
नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको प्रक्रिया अघि बढेको हो ।
२९ गते दिउसो १ बजे बस्ने बैठकमा महाभियोग प्रस्ताव प्रस्तुत भएपछि समितिले कार्य शुरु गर्नेछ । महाभियोग छानबिनका लागि हाल बहाल रहेको कानून "महाभियोग (कार्यविधि नियमित गर्ने ऐन), २०५९" पनि समितिले अवलम्बन गर्नेछ । यो ऐन २०६५ साल जेठ १५ गतेदेखि लागू भएको हो ।
यो ऐन अनुसार समितिलाई तोकिएको तीन महिनाको अवधिमा सभामुखले अर्को एक महिना कार्यावधि बढाउन सक्ने व्यवस्था छ । समितिले भ्रष्टाचारको अनुसन्धान गर्ने अनुसन्धान अधिकृतकै रुपमा काम गर्ने प्रावधान पनि ऐनमा रहेको छ ।
महाभियोग प्रस्तावमाथिको सुनुवाइ प्रक्रिया कति लम्बिन्छ भन्ने कुरा २९ गतेको छलफल र छानबिन समितिले कार्य प्रारम्भ गर्ने मिति तथा प्रतिवेदन बुझाउने समयले निर्धारण गर्नेछ ।
विगतलाई हेर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध दर्ता महाभियोग प्रस्तावमाथि सदनको छलफल लम्बिएको थियो । छलफल लम्बिइरहँदा नै अदालतमा "उच्च नैतिक चरित्र" र "नैतिकता" सम्बन्धी मुद्दा परी अदालतबाटै लोकमानलाई अयोग्य घोषित गरिएको थियो ।
आउँदो आइतबारको सदनको छलफलमा भाग लिने सांसद र तिनको भाषणपछि महाभियोग समितिको कामको थालनीको समय हुन पुग्नेछ । २ सय ७५ सांसदले कतिसम्म बोल्न समय पाउनेछन् भन्ने सभामुखले तोक्न बाँकी छ । त्यसपछि समितिले प्रतिवेदन पेश गर्ने र प्रतिवेदनमाथि छलफल गर्न थप समय आवश्यक पर्नेछ ।
महाभियोग प्रस्तावमाथि चैतको पहिलो हप्ता छलफल सकिएमा समितिले दोस्रो हप्तादेखि काम शुरु गर्न सक्छ । त्यसपछि असारमा ३ महिना पुग्छ । समितिले छानबिनको काम सम्पन्न गर्न नभ्याएमा सभामुखबाट एक महिना थपिन सक्छ । साउनमा प्रतिवेदन आएमा त्यसमाथि फेरि सदनमा छलफल हुनेछ । त्यो छलफल पनि कति लम्बिन्छ भन्न सक्ने अवस्था रहँदैन । त्यसमाथि पनि हालैका वर्षमा संसदको अधिवेशन अन्त्य कहिले हुने भन्ने एकीन गर्न नसक्ने प्रचलन छ । संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्ने चलन बसिसकेको छ ।
अर्कोतिर प्रतिनिधिसभाको विघटन गरेर शीघ्र निर्वाचन गर्ने कुरा पनि बहसमा छ । यदि प्रतिनिधिसभा विघटन गरियो र छ महिनामा आम निर्वाचन गराइयो भने नयाँ प्रतिनिधिसभाले महाभियोग सम्बन्धी काम फेरि शुरुबाट गर्नु पर्ने हुन्छ । त्यतिञ्जेलसम्ममा चोलेन्द्रशमशेरको उमेर ६५ वर्ष पूरा भैसकेको हुनेछ ।आउँदो पुस ७ गते उनको ६५ वर्षको उमेर हद पूरा हुनेछ ।
भविष्य जे भएपनि सभामुखबाट केही दिनमा अघि बढाइने काम भनेका ३ वटा हुनेछन् । पहिलो, २९ गतेको सदनमा महाभियोग प्रस्ताव प्रस्तुत गराउने । दोस्रो, महाभियोग सिफारिस समितिको कार्यालय र कर्मचारीको व्यवस्था गरिदिने । र; तेस्रो, तीन महिनामा काम सम्पन्न गर्न नसकेमा समितिको म्याद थप गरिदिने ।
समितिले काम निष्कर्षमा पुर्याउन भ्याएपनि नभ्याएपनि छानबिन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृतकै समान तरिकाले प्रमाण संकलन गरी महाभियोगमा उल्लिखित विषयमा चोलेन्द्रसंग बयान लिनेछ । त्यस्तै, पीडितहरुसंग पनि जानकारी लिन सक्नेछ । महाभियोग सम्बन्धी कार्यविधि उक्त ऐनमा उल्लेख गरिएका छन् ।