पर्वतमा सिसैसिसाले बनेको आकाशे पुल (स्काइब्रिज) सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले यो पुल निर्माण गरेको हो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ ।
एकैपटकमा १०० जनासम्मले स्काइब्रिज वारपार गर्नसक्ने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। “हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौँ”, उनले भने, “अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौँ ।” स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिने छ ।
अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए । स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ ।
हार्नेस प्रालीले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उनले जानकारी दिए ।
कम्पनीले विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै जनाले जीपलाइनको समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनीलसिंह बानियाँले बताए । “बन्जी, स्वीङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन् । जीपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ”, उनले भने ।
जीपलाइनका लागि रु ३ हजार ५०० शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन सुरुमा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । एक हजार ४८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइन ल्यान्डिङ हुन्छ ।