सुख्खा मौसम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरू बढ्न थालेका छन् । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र त्यसबाहेकको वन क्षेत्रमा पनि डढेलो लाग्न थालेको छ ।
वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको वनमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जङ्गलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ ।’
लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-२ को खैदीस्थित जङ्गलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन् । भिरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ ।
यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा रसुवाको करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जङ्गलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
वनजङ्गलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । रसुवामा हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।