लमजुङको बेसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । यो प्याकेज अन्तर्गत पर्यटकहरूलाई नजिकबाट लालीगुराँस हेर्ने र त्यसको आनन्द लिने अवसर प्रदान गरिन्छ ।
काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सञ्चालन गरिएको जानकारी दिए । वनमा लालीगुराँस लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङले बताए ।
काउलेपानी घुम्नजाने व्यक्तिहरूको आकर्षणको लागि त्यहाँ समय अनुसार विभिन्न प्रकारका प्यकेजहरूको व्यवस्था गर्ने गरिएको छ । चैत-वैशाखमा काफल र ऐँसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाईँ प्याकेज र साउनमा कोदो रोपाईँ प्याकेज सञ्चालन गरिन्छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मङ्सिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।
सन् २०११ मा काउलेपानीमा घरबास (होमस्टे) कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा कुल ८४ बेड छन् । काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ ।
काउलेपानी आन्तरिक पर्यटकहरूको पनि रोजाइमा पर्ने गरेको छ । स्कुल, कलेजका विद्यार्थीहरू पनि निकै जाने गरेका छन् । होमस्टे अध्ययनकर्ता समेत त्यहाँ पुग्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए ।
समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमाल देख्न सकिन्छ । शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रूपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।
लमजुङको सदरमुकाम बेसीशहरबाट मोटरमा जाँदा करिब ८ किलोमिटर कच्ची सडक पार गर्नु पर्दछ । पैदलयात्रामा बेसीशहरबाट करिब डेढ घण्टामा काउलेपानी पुग्न सकिन्छ ।