कवि तथा लेखक रुपक अलङ्कारको नवीनतम् महाकाव्य 'विश्रान्त' सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित एक कार्यक्रमबीच उक्त महाकाव्य विमोचन गरिएको हो ।
विमोचित कृतिबारे समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादी चरित्रलाई कृतिले प्रश्न गर्नुको साथै काव्यिक तरिकाले झापड हानेको बताए । विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए ।
समालोचक डा. रामप्रसाद ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको सङ्घर्षलाई बृहत् रूपमा प्रस्तुत गरेको बताए ।
पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिबिम्ब रहेको ज्ञवालीले बताए । उनले भने, 'समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक सङ्घर्षमा एक व्यक्तिको राजनीतिक आरोह-अवरोहमार्फत समाजको चित्रण गरेको छ ।'
समालोचक पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए ।
लेखक तथा समालोचक शैलेन्द्र अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको छ यसबारे अध्ययन हुनुपर्यो भन्ने धारणा व्यक्त गरे ।
फुटकर कविता र निबन्ध लेख्ने गरेका कवि अलङ्कारको यो पहिलो महाकाव्य हो । महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ७५ रुपैयाँ रहेकाे छ ।