राष्ट्रियसभा सदस्यमा हालै निर्वाचित १९ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सक्षम नयाँ सांसदहरुले शपथ लिएका हुन् ।
शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् । नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिए ।
नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफनो जातीय वेषभूषासहितको पहिरनमा आउका थिए ।
राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरे ।
सचिवालयका महासचिव डा भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए ।