अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।
गत पुस १३-१९ मा सम्पन्न आठौँ महाधिवेशनको म्यान्डेट तथा फागुन ४ गतेको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनविना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएपछि यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेन्डा प्रभावित हुने भएका हुन् ।
‘मोटामोटी रूपमा महाधिवेशनबाट बाँकी रहेका साङ्गठनिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले भने, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसीसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वाभाविक रूपमा छलफल र बहस हुने देखिन्छ ।’
महाधिवेशन पछिको साङ्गठनिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुङ्ग्याउने निधो गरिएको थियो । सो विषयमा छलफल गर्नका लागि फागुन २ गते र फागुन ८ गतेका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसीसीका कारण सत्तारूढ गठबन्धन नै अप्ठयारोमा परेको बेला बोलाईएका ती दुवै बैठक स्थगित गरी फागुन २० गतेका लागि केन्द्रीय समितिको बैठक तेस्रो पटक आह्वान गरिएको हो ।
तर संशोधनविना एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने पार्टी महाधिवेशन र संसदीय दलले निर्णय गरेको भएपनि ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई उभ्याएपछि आन्तरिक विवाद चुलिएको अवस्था छ ।
संसदीय दलका नेता प्रचण्डको निर्देशन अस्वीकार गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्रीद्वय जयपुरी घर्तिमगर र रेखा शर्मासहित यशोदा सुवेदी गुरुङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका थिए । बैठकमा उपस्थित भए पनि पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सांसद अञ्जना बिशंखेले ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेका थिए ।
यस्तो परिस्थितिमा आज सुरु हुने बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका विषयलाई लिएर लिखित रुपमा फरक मत राख्ने भएका छन् । ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
यसैगरी, महरा, गुरुङसहित लीलामणि पोखरेल, लेखनाथ न्यौपानेले पनि बैठकमा लिखित रूपमा नै फरक मत राख्ने छन् ।
यसैबीच नारायणकाजी श्रेष्ठ पक्षले एमसीसी अनुमोदनको विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।
‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य नभएको र जल्दोबल्दो रूपमा एमसीसी आएकाले पहिला यसै विषयमा छलफल हुनुपर्ने हाम्रो माग छ ।’ उनका अनुसार एमसीसीका बारेमा छलफल भएपछि मात्रै अन्य विषयमा प्रवेश गर्नुपर्ने सो पक्षकाे निष्कर्ष रहेको छ ।
‘अध्यक्षले महाधिवेशनकाे निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिनु भएको हो ? त्यसका बारेमा चित्त बुझ्दो प्रष्टीकरण दिनुपर्छ, नभए नारायणकाजी श्रेष्ठले आफ्नाे लिखित राय बैठकमा राख्नु हुनेछ,’ पोखरेलले भने ।
केन्द्रीय कमिटीको बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि बस्ने कार्यक्रम छ ।