युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रूपमा अन्य देशमा पुगेका छन् । 'रुस - युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानकारी दिएकाे हाे । समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जाना, हङ्गेरीमा ४ जना, रोमानियामा १२ जना, मोल्दोवामा २ जना सकुशल पुगेका छन् ।
यस्तै युक्रेनबाट सुरक्षित मुलुकतर्फ जाँदैगरेका १ सय ३० जना पोल्याण्डको सीमामा, १२ जना स्लोभाकियाको सीमामा, १० जना रोमानियाको सीमामा र २ जना नेपाली मोल्दोवाको सीमामा रोकिएका छन् । उनीहरूले सोमबार साँझसम्म सीमा पार गर्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायीरूपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरू पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा रहेका छन् ।
रुस - युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।
उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएकाे जानकारी दिए ।
गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरैजना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमबारदेखि सीमा क्षेत्र केही खुकुलो भएकाे बताए ।
स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले सीमा क्षेत्रमा आफैँ पुगेर ११ जना नेपालीलाई सुरक्षित स्थानमा पुर्याएको जानकारी दिए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए । साथै सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज अवस्था रहेको बताए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खान र बस्न प्रवन्ध गरेको जानकारी दिए ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरू सुरक्षित रूपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कैयौँ नेपालीहरू रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए ।
उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना र बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन गर्ने, उद्धारको लागि स्थानीय रूपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरूको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थ सङ्कलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको जनाएको छ ।