विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव देशका विभिन्न सहरमा आंशिक रूपमा परेको छ । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता आइतबार संसद्बाट अनुमोदन भएपछि ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले साेमबार नेपाल बन्द आह्वान गरेका हुन् ।
बन्दकर्ताले चितवनको नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए ।
मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दूरीका सार्वजनिक यातायात, मालबाहक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन । बैंक तथा वित्तिय संस्थाहरु एक/दुईवटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने चलेका छन् तर पहिलेभन्दा कम ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बन्दको प्रभाव सामान्य परेको बताए । बन्दकर्ताले कतै जबरजस्ती गरेका छैनन् । अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको उनले बताए ।
यसैगरी बन्दको प्रभाव लुम्बिनी प्रदेशमा पनि आंशिक रूपमा परेको छ । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरू रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव देखिएको छ ।
मुख्य राजमार्ग क्षेत्रका पसलहरू साथै सहरका मुख्य बजारहरू धेरैजसो बन्द रहे पनि आंशिक रुपमा खुलेका छन् । विद्यालयहरूले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।
लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न नसक्दा यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले जानकारी दिए ।
नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन चलेका छैनन् । तर हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय-कलेज, बजारव्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी भने चल्न दिने बताएका छन् । देशका विभिन्न स्थानबाट हिजो नै छुटेका सवारी साधनलाई सुरक्षित रूपमा सम्बन्धित स्थानमा पुग्ने वातावरण बनाउनका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
कञ्चनपुरमा पनि शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा तथा मोटरसाइकलहरू चलिरहेका छन् भने केही निजी ठूलासवारी समेत सञ्चालन भइरहेका छन् । मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमले बताए ।
बाँकेमा भने जवर्जस्ती बन्द गराउँदै हिँड्ने ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले संसद्बाट अनुमोदन गरिएकाे एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।