सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ ।
एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् ।
विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४ औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बलमा अभिषेक गोल गरे ।
तर, प्रदीप लामाले ७०औं मिनेटमा गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो । ८१ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले २–१ को जित निश्चित गर्यो ।
आशिष लामाले ६३ औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिट पोस्टको माथिबाट बाहिरियो । खेलको ८९औं मिनेटमा आवास लामिछानले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहार्दै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित बनेको थियो ।
लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्दै लिगको अन्त्य गर्यो । त्यस्तै, समान खेलबाट १५ अंक जोडेको एपीएफले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।
यस पटक लिग तालिकाको पुछारमा रहेका दुई टोली च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका छन् ।