सहिद स्मारक ‘ए’ डिभिजन लिग–०७८ को अन्तिम दिन त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै आर्मीले दोस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको छ ।
अपराजित रहँदै लिग टुङग्याएको आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । समान खेलबाट २१ अंक जोड्दै मनाङ पाँचौ स्थानमा रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ४५ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलबाट मनाङले अग्रता लिएको थियो । दिनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई जाली चुमाएका थिए ।
तर, मनाङका गोलकिपर अशोक बरालले ७१ औँ मिनेट गम्भीर गल्ती गरेपछि आर्मी खेलमा फर्किएको थियो । सन्तोष तामाङले गरेका फ्रि किकमा अशोक र टोलीका डिफेन्डरबीच मिस कम्युनिकेशन भएपछि मनाङका डिफेन्डर फ्रयांकलिन टल्लाको ढाडमा लागेर बलले पोस्टको दिशा लिएको थियो ।
आर्मीका विमल पाण्डेले ६३ औँ मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै बचाए ।
आर्मीका जर्ज प्रिन्सले ६९ औँ मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । आर्मीका टंक बस्नेतले गरेको कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्ज प्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो ।
लिगको ११ औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । यस्तै तालिकाको पुछारमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।