काठमाडौंको चाबहिल मालपोत कार्यालय भ्रष्टाचारकै कारण हाकिम पक्राउ परेको र पियनले आत्महत्या गरेको कार्यालय भएपनि भ्रष्टाचार र घुसखोरी घट्नुको सट्टा झन् बढेको गुनासो आइरहेको छ । यस्तै गुनासाहरुमध्येको एक गुनासो सम्बोधन गर्दै अख्तियारले एक खरिदारलाई अरु तीन जनासहित घुस लिँदालिँदै पक्राउ गरेको छ ।
सेवाग्राहीको काममा झुलाउने र विदेशमा रहेका व्यक्तिको जग्गा अर्कै व्यक्तिको जग्गामा घुसाएर अदालतमा मुद्दामामिलामा पठाएर दुख दिने काममा प्रमुख भूमिका खेल्ने गरेको गुनासो व्यापक बनिरहेका बेला उनलाई अख्तियारले समातेको हो ।
जग्गाधनी विदेशमा रहेका र कम्पाउण्ड वाल नलगाए जग्गा लक्ष्मण बस्नेत सहित मालपोत र नापीका कर्मचारीको मिलेमतोमा अन्य व्यक्तिका नाममा घुसाएको स्रेस्ता नक्सा तयार पार्ने गरेको भन्ने गुनासो प्रहरी र अख्तियारमा पर्ने क्रम बढेको छ । त्यस्ता कर्मचारीमध्ये एक लक्ष्मण बस्नेत पनि रहेको अख्तियारस्रोतले जनाएको छ ।
चाबहिल मालपोतबाट जनतालाई दुख दिने गरेको गुनासो बढ्नुमा खरिदार र सुब्बा हुँदै कार्यालय प्रमुखबाट निर्णय गराइने भ्रष्टाचार हुने गरेको भनिएको छ । कार्यालय प्रमुख नै यस्ता कर्मचारीको मोलाहिजा बिना चल्न नसक्ने भएकोले घुसखोरी र भ्रष्टाचार खुलेआम जस्तै भएको कुरा गुनासोहरुमा उल्लेख हुने गरेको छ ।
एक व्यक्तिको जग्गा अर्कोमा पार्ने र पीडितलाई अदालतमा मुद्दा हाल्न सुझाव दिने काम मालपोत र नापीका यस्ता कर्मचारीहरुबाट हुने गरेको सेवाग्राहीले पीडा पोख्ने गरेका छन् । ज्यादै नै गुनासो आएकोले हल्का निगरानी गर्दा नै यस्ता कर्मचारी रंगेहात समातिने गरेको अख्तियारस्रोत बताउँछ ।
खरिदार बस्नेतलाई हिजो बेलुका सेवाग्राहीलाई काठमाडौँ-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छा घरमा बोलाएर घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीसँगै बिचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र होटेल व्यवसायी मीना मगर पनि पक्राउ परेका छन् । थकाली भान्सा घरका सञ्चालकको समेत मिलेमतोमा खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटेलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थाहा भएको छ ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टोली खटाएरुस उनलाई घुस रकमसहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जग्गाको हालसाविक सेवाग्राहीको एक प्रमुख समस्या हो । घुुस रकम दिनेको २४ घण्टाभित्र हालसाविक हुने गरेको छ । तर घुस नदिनेको १० वर्षसम्म पनि हालसाविक नगरिदिने चलन चाबहिल मालपोतमा छ । ३ वर्षदेखि १० वर्ष पुराना ५० भन्दा बढी निवेदन घुसकै अभावमा दराजमा थन्क्याएर राखिएको चाबहिल मालपोत पीडितहरुले बताए । "निर्णय नगरिकन झुलाएर राख्नु र रकम असुल्नु चाबहिलमा सामान्य हो", एक पीडितले सुनाए ।
मालपोत र नापीका कर्मचारीको मिलेमतोमा जग्गा अर्कैको नाममा नामसारी गर्ने र अर्काको जग्गाको स्रेस्ता र नक्सामा अपचलन गरेको भनी नापी र मालपोत विरुद्ध उजुरी पर्ने क्रम बढेको महानगरीय प्रहरी महाशाखाका अधिकारीहरुले पनि बताउने गरेका छन् ।
कानूनले अदालतबाहेक अन्य निकायमा जग्गाको मुद्दा हेर्न नमिल्ने भएकोले पीडितलाई भूमाफियाहरुले अदालती मुद्दाको झमेलामा झुण्डाइदिएर झन् पीडित बनाउने गरेको प्रहरीहरु बताउँछन् । आफैंले रजिष्ट्रेशन पास गरेर राखेको जग्गाबाट केही वा सबै जग्गा अर्को व्यक्तिमा स्वामित्व हस्तान्तरण गर्ने गरेको गुनासो पनि बढ्दो छ ।
जग्गावालालाई जानकारी नदिई जग्गाको क्षेत्रफल घटाउने काम मालपोतबाट भएको उजुरी पनि प्रहरीमा पुग्ने गरेको छ । रजिष्ट्रेशन पास गर्ने अड्डाबाटै यस्तो काम हुँदा समग्र राज्य संयन्त्र नै "फेक" बन्न सक्ने खतरा बढाउनमा भूमिप्रशासनका केही कार्यालय सहयोगीदेखिका एकथरि कर्मचारीहरुको खराब भूमिका कारक रहेको प्रहरी अनुसन्धानकर्ता बताउँछन् ।