प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सम्झौतामाथिको सैद्धान्तिक छलफलको ढाँचा नै विवादमा परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतको सट्टा मतविभाजनबाट छलफल अघि बढाउन लागेको आशंकामा सरकारले प्रतिनिधिसभाको हिजोको बैठक स्थगित गराएको थियो । आजको बैठकमा सभामुखले छलफल प्रक्रिया कार्यान्वयन गराउनेछन् ।
सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत विभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंका सरकारले गरे्को छ । मत विभाजन प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर हिजोको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँडले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन, सभामुख सापकोटाले आफनो पदीय भुमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन् । जसकाकारण, एमसीसीमा बिबादमा पर्दै आएका सभामुख सापकोटा थप विवाद र आशंकाको घेरामा थप पर्न गएका छन् । माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाए पछि सरकारले संसद बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले बताएको छ ।
सो योजना सार्वजनिक भए पछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रबिद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत विभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन ।
‘२०४७ साल देखी हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले वालुवाटारमा हिजो साँझ टिप्पणी गरेका थिए, ‘यदि सैद्धान्तिक छलफलमा नै मत विभाजन गर्न थालियो भने कुनै पनि सरकारले काम गर्न सक्दैन, संसद नै अप्ठयारो अवस्थावाट सधैं गुज्रन्छ, यो काम गर्नु हुन्न ।’
सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत विभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाइ छ ।