नेपाली कांग्रेस र एमालेको सत्ता साझेदारी र अमेरिकी सहयोगको एमसीसी परियोजना सम्झौता संसदबाट अनुमोदन गराउने काम प्याकेजमै गर्ने दुई दलका नेताबीच समझदारी बनेको छ । हिजो बेलुका यस्तो समझदारी निर्माण भएपछि आज बिहानैदेखि ती दुई दलका नेता "पावर शेयरिङ" को छलफलमा जुटेका छन् ।
आजको चार दिन अर्थात् फागुन १६ गतेभित्र सत्ता गठबन्धन परिवर्तन र अमेरिकी सम्झौता अनुमोदन गर्ने गरी कांग्रेस र एमालेबीच गृहकार्य भैरहेको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच हिजो बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा माओवादी र एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट हटाई सहकार्य गर्ने निर्णय भएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
महामन्त्री थापाका अनुसार प्रधानमन्त्री देउवाले नेपाल सरकारले सम्झौता गरी अनुमोदन गर्ने जनाइसकेपछि अन्यथा कुरा गर्दा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गुम्ने चिन्ता व्यक्त गर्दै यस सम्बन्धमा एमाले पनि स्पष्ट छ भन्ने आफ्नो धारणा रहेको बताएका थिए ।
साथै प्रधानमन्त्री देउवाले नेपालको संविधान जारी गर्दा पनि कांग्रेस र एमाले एउटै ठाउँमा उभिएको स्मरण गराएका थिए । बैठकमा एमाले अध्यक्ष ओलीले सो सम्बन्धमा आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै सँगै उभिने कुरामा आफूहरु संसदीय प्रक्रियामा सहभागी हुन नसकिरहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा आग्रह गरेका थिए ।
सो सम्बन्धमा सरकारले कसरी वातावरण बनाउने भन्ने सन्दर्भमा सकारात्मक छलफल भएको र आज पुनः बस्ने गरी बैठक सम्पन्न भएको महामन्त्री थापाले जानकारी दिए । बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।
संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पार्ने क्रममा सत्ता गठबन्धन परिवर्तनको संघारमा पुगेको हो ।
हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि डाकिएको छ भने एमसीसी सम्झौता फागुन १६ गतेभित्र अनुमोदन गराउनु पर्ने अमेरिकी भनाइ छ ।