रसियाले युक्रेनको पूर्वी दोन्बास क्षेत्रमा विशेष सैनिक कारबाही अघि बढाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले दोनबास क्षेत्रमा सङ्घर्षरत रसिया समर्थित विद्रोहीहरूको सामना गरिरहेका युक्रेनका सैनिकहरूलाई हतियार थन्क्याएर घर फर्कन भनेका छन् ।
सम्बोधनका क्रममा पुटिनले युक्रेनमा आधिपत्य जमाउने रसियाको कुनै योजना नभएको तर यदि कोही रसियामाथि जाइलाग्छ भने मस्कोले तत्काल उपयुक्त जवाफ दिनेछ भनी चेतावनी पनि दिएका छन् ।
युक्रेन र उसका सहयोगी पश्चिमी मुलुकहरूले रसिया युक्रेनमा आक्रमणको तयारीमा रहेको भनी यसअघि नै भन्दै आएका थिए ।
बेलायती सञ्चार माध्यम बीबीसीका अनुसार युक्रेनका कतिपय सहरमा विष्फोटका आवाजहरू तथा युक्रेनको राजधानी किभ नजिकको बोरिस्पिल विमानस्थल नजिक गोली चलेका आवाजहरू सुनिएका छन् ।
युक्रेनमा रसियाली सेनाले गरेको अकारण र अन्यायपूर्ण आक्रमणको अमेरिका तथा उसका सहयोगी मुलुकहरूले संयुक्त र निर्णायक रूपमा जवाफ दिने प्रतिक्रिया अमेरिकी राष्ट्रपति जो बाइडनले व्यक्त गरेका छन् ।
पुटिनले सुनियोजित युद्ध अघि सारेर असङ्ख्य मानवले दुःख पाउने तथा कैयौँ जीवनको अन्त्य हुनसक्ने अवस्था निम्त्याएको भन्दै बाइडनले यसमा विश्व समुदायले रसियालाई जिम्मेवार ठहराउने बताएका छन् ।
पुटिनले आक्रमणको घोषणा गर्नु केही अघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले युरोपमा एउटा ठूलो युद्ध निम्त्याउन लागेको भन्दै यसको विरोध गर्न रसियाका नागरिकरूलाई आग्रह गरेका थिए ।
युक्रेनको सीमा क्षेत्रमा रसियाका करिव २ लाख सैनिक तथा हजारौँ सैन्य-बाहनहरू तैनात रहेको जेलेन्स्कीले बताएका छन् ।
रसियाले सैनिक कारवाही अघि बढाउनु केही दिन अघि मात्रै पूर्वी युक्रेनका क्षेत्रहरू दोनेस्क र लुहान्सकलाई छुट्टै गणतन्त्रको मान्यता दिएको थियो । यसैले पछि रसियासँग सैनिक सहयोगको लागि आग्रह गरेको थियो ।
आफ्नो सम्बोधनमा पुटिनले किभ प्रशासनद्वारा विगत ८ वर्षदेखि गरिएको हत्या र प्रताडना सहँदै आएका त्यस क्षेत्रका जनताको रक्षाको लागि रसियाले सैनिक परिचालन गरेको बताएका छन् ।