नयाँ वर्ष २०७९ सालको पात्रो प्रकाशन प्रक्रिया चलिरहेको बेला पञ्चाङ्ग निर्णायक समितिले पात्रो जफत गर्ने सूचना निकालेपछि पात्रो प्रकाशकहरु धमाधम समितिको सम्पर्कमा पुग्न थालेका छन् ।
समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरिरहेको छ । सूचना जारी गरेपछि समितिका सदस्यहरुलाई फोन गरेर अनुमति लिने प्रक्रियाबारे जानकारी माग्नेहरुको संख्या बढेको एक सदस्यले बताए । "स्वीकृति लिनु पर्छ भन्ने सूचना विगतमा पनि जारी हुने गरेको थियो, थोरैले मात्रै स्वीकृति लिन्थे, यसपटक स्वीकृति नलिएका पात्रो जफत गर्ने सूचना निकालेपछि सम्पर्कमा आउनेको संख्या बढ्दैछ", एक सदस्यले बताए ।
वर्षेनी पञ्चाङ्ग प्रकाशन गर्दै आएको पोखरा चिसाखोला वेद विद्याश्रम पनि समितिको सम्पर्कमा पुगेको छ । "धेरै वर्षदेखि हामीले समितिको स्वीकृति र शुभकामना समेत राख्ने गरेका हौं, हाम्रो पात्रो नेपालभर लोकप्रिय पनि छ", वेदविद्याश्रमका पञ्चाङ्गकार ज्योतिषी गङ्गासागर उपाध्यायले नेपालीत्व समाचारदातालाई बताए- "कुनैकुनै वर्ष स्वीकृति लिन नभ्याउने अवस्था पनि हुन्थ्यो, यसपटक स्वीकृति प्रक्रिया चलिरहेको छ ।"
मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।
समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ ।
समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।
समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलोपटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो ।