नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको तर संसदमा गएको एमसीसी प्रक्रियामा भाग लिन पहिला एमालेलाई न्याय दिनुपर्ने बताएका छन् ।
एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।
‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भने, ‘अध्यक्षज्यूले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’
प्रतिनिधिसभाको अघिल्लो बैठकमा एमसीसी सम्झौताको प्रस्ताव टेबल भइसकेको छ र बिहीबार बस्ने बैठकमा यस सम्बन्धी थप प्रक्रिया अघि बढाइने छ। यही फागुन १६ गतेसम्म एमसीसी सदनबाट अनुमोदन नभए सो परियोजना फिर्ता जानसक्ने हुँदा सरकारले यसलाई छिटो टुङ्ग्याउन खोजिरहेको छ ।
सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।
एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मङ्गलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरूपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौँ,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।