दाङको घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।
प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, “अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादन वृद्धि गरिने छ ।” प्लान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्रै प्रयोग गरिएको छ ।
उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्याउने योजना रहेको उनले बताए । यसका लागि छिटै पाइप विस्तारको काम सुरु गरिने उनले जानकारी दिए । उनले भने, “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो ।”
पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटर अनुसार रकम तिर्नुपर्नेछ । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिकाबीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताए ।
पहिलो चरणमा ४५० घरधुरीमा पुर्याउने उद्देश्यले सर्भे गरिएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई दिएर परीक्षण गरिने छ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ । त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करिब रु २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।
फोहरबाट ग्यास उत्पादनका लागि ४० प्रतिशत रकम केन्द्रले दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले बेहोर्ने सहमति भएको छ । संरचना निर्माणका लागि नगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए ।
कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।
उपमहानगरप्रमुख नरुलाल चौधरीले भने, “नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको छ ।” ग्याससँगै कम्पोष्ट मल उत्पादन गरिने हुँदा फोहर व्यवस्थापनमा पनि सघाउ पुग्ने अपेक्षा गरिएको उनले बताए । स्थानीयस्तरमा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् ।
घरघरबाट निस्कने फोहरमध्ये प्राङ्गारिक (गल्ने) वस्तु ग्यास उत्पादन गर्न उपयोग हुने भएपछि उपनगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।
उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु १०, कपडा प्रतिकिलो रु ५, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकिलो रु २ र कापीसहित वर्गीकरण अनुसारका फोहरलाई प्रतिकिलो रु १० देखि २० सम्ममा खरिद गर्ने गरी दर कायम गरिएको छ । यसरी खरिद गरिएको गल्ने फोहरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ ।