अस्ट्रेलियाले दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।
कोभिड-१९ महामारी विश्वभर फैलिन थालेपछि सन् २०२० को मार्चमा सीमा बन्द गरेको अष्ट्रेलियाले देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाएको थियो ।
अष्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर अधिकांश विदेशी अष्ट्रेलिया जान पाएका थिएनन् ।
सयौँ आफन्तहरू उडानमार्फत पुग्दा सिड्नी विमानस्थलमा सोमबार मानिसहरुको भावपूर्ण पुनर्मिलन भएको थियो । सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ ।
‘सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । उनीहरु वेस्टर्न अस्ट्रेलियाबाहेक सबै राज्यमा आवत जावत गर्न पाउनेछन् ।
अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश अनुमति दिएसँगै पर्यटकहरुको आवागमन बढ्ने विश्वास गरिएको छ । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए ।
अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमण भएर करिब ४,९०० जनाको मृत्यु भएको छ ।