आईसीसी पुरुष टी-२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन् ।
समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डसँग र बहराइनले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछन् । अर्कोतर्फ क्यानडा र नेपाल तथा ओमान र फिलिपिन्सबीच प्रतिष्पर्धा हुँदैछ ।
समूह ए को खेलमा यूएईसँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ ।
नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको पनि सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी नै छ । फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा दुवै खेल जितेको नेपाल चार अङ्क बनाएर शीर्षस्थानमा छ । क्यानडा र ओमानको भने समान दुई अङ्क छ । रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ ।
अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । भोलि (सोमबार) नेपालको समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने खेलमा नेपाल विजयी भए अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्नेछ । पराजित नै भएको अवस्थामा पनि झिनो अन्तरले पराजित भएमा रनरेटको आधारमा नेपाल सेमिफाइनलमा पुग्न सक्ने हुन्छ ।
अर्काे खेलमा ओमान र फिलिपिन्स भिड्दैछन् । यो खेल फिलिपिन्सले जित्यो भने पनि नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । यदि यो खेलमा ओमान विजयी भएमा र क्यानडासँग नेपाल पराजित भएमा भने रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
हाल नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ । यस्तै क्यानडाको २ दशमलब ५१२ र ओमानको माइनस शून्य दशमलब ५६३ छ ।