अफगानिस्तानका तालिबानहरूले युद्ध अन्त्य भएको घोषणा गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छोडी भागिसकेको र राजधानी काबुलमाथि नियन्त्रण कायम भैसकेको अवस्थामा युद्ध अब सकिएको उनीहरूले बताए।
राष्ट्रपति गनीले देश छोडेपछि उनीहरूले देशको शक्तिकेन्द्र मानिएको राष्ट्रपति भवनलाई पनि नियन्त्रणमा लिएका थिए। तालिबान नेताहरूले राष्ट्रपति भवनबाटै पत्रकारहरूलाई सम्बोधन गरेका थिए।
यसैबीच तालिबानका प्रवक्ताले नयाँ सरकारको घोषणा छिटै गरिने बताएका छन्। प्रवक्ता मोहम्मद नाईमले आफूहरू सबैबाट एक्लिएर बस्न नसक्ने भन्दै शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने बताएको अल जजिराले उल्लेख गरेको छ।
आफूहरूले देश र जनाको स्वतन्त्रता चाहेको र त्यो अब प्राप्त भएको उनले बताएका छन्। “हामी कसैलाई पनि हाम्रो देशको भूमि अन्य कसैको विरुद्धमा प्रयोग गर्न दिंदैनौं र हामी कसैको पनि अहित गर्न चाहँदैनौं”- उनले भने।
सोमबार विहानैदेखि काबुलका सडकहरू शान्त रहेको बताइएको छ। तर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भने ठूलो भीड जम्मा भएको छ। देश छोडेर जान चाहनेहरूको भीडले विमानस्थल खचाखच रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मानिसहरू ठेलमठेल गरेर विमान चढ्दैगरेका भिडियोहरू सार्वजनिक भएका छन्।
काबुलमा विदेशबाट हुने व्यापारिक उडानहरू सबै बन्द गरिएको छ। सयौं अफगानहरू व्यापारिक उडानको अन्तिम विमान छोप्न भनी रातको अँध्यारोमै विमानस्थलको धावनमार्गमा घुसेर बसेको समाचार सूत्रहरूले बताएका छन्।
अमेरिकी र अन्य पश्चिमी राष्ट्रहरू पनि आआफ्ना नागरिक तथा कुटनीतिक नियोगका व्यक्तिहरूलाई स्वदेश फर्काउन सक्रिय छन्।
वाह्य देशका नागरिक तथा कूटनीतिक व्यक्तिहरूलाई धमाधम विमानहरूले लैजाँदै गरेको तथा आफूहरू चढ्न नपाएको भन्दै विमानस्थल पुगेका अफ्गानहरूले आक्रोश व्यक्त गरेको पनि समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
विमानस्थलमा भीड अनियन्त्रित भएपछि अमेरिकी सेनाले भिड नियन्त्रण गर्न हवाई फायर समेत गरेको बताइएको छ। यतिवेला काबुलमा ६ हजारभन्दा बढी अमेरिकी तथा अन्य देशका सैनिकहरू छन्।
यसैबीच अफगानिस्तानमा विकसित नयाँ परिस्थितिका बारेमा आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले छलफल गर्ने भएको छ।