नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ ।
केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रह अनुसार फागुन १३ मा गर्ने तय भएको अधिवेशन अब फागुन १५ गते गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो । निर्वाचन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
क्रियाशील सदस्यता विवाद समयमै समाधान हुन नसकेकोलगायत विविध कारणले मधेस प्रदेशका आठैवटा जिल्लासहित चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपुर, बाँके, अछाम र कैलालीको अधिवेशन रोकिएको छ ।
अधिवेशन हुन बाँकी १६ जिल्लाबाहेक निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति फागुन १० भित्रै गर्ने निर्णय भएको समितिले जनाएको छ ।
पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा त्यो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदको उम्मेद्वार हुन नमिल्ने ठहर पनि समितिले गरेको छ ।