नेपालमा केही वर्ष अघि सम्म आम नेपाली जनताले भोग्दै आएका सास्ती मध्ये एउटा बिजुलीको चरम अभाव पनि थियो । माग भन्दा बिजुलीको आपूर्ति निकै कम भएकै कारण जनता २४ घन्टामा १८ घन्टासम्म ‘बिजुली नहुने अवस्था’ अर्थात ‘लोडसेडिङ’ ब्यहोर्न बाध्य थिए । नेपाल जलविद्युत क्षमतामा विश्वमै अग्रणी राष्ट्रमा पर्दछ । तर पनि, तत्कालीन सरकारहरूले पूर्वानुमान गरी जलविद्युत आयोजनामा लगानी गर्न नसक्नु र माओवादीको १० वर्षे हिंसात्मक आन्दोलनको कारण जनता चरम लोडसेडिङको मारमा परे । विगतमा सञ्चार माध्यममा बिजुली अभाव र लोडसेडिङका समाचारले प्रमुखता पाउने गरेका थिए ।
लोडसेडिङको समस्या त समाधान भयो तर विगत देखी हालसम्म पनि समाधान नभएको समस्या हो रासायनिक मलको अभाव । नेपालको खाद्य सुरक्षाको लागि धान, गहुँ र मकै मुख्य बाली हुन् । तर यिनै बालीको लागि चाहिने रासायनिक मल समयमा नपाउनु कृषकहरूको नियति बनिसकेको छ । धान खेतीको लागि अति आवश्यक युरिया मलको लागि प्रत्येक बर्ष कृषकहरूको लामो लाइन लाग्नु र पर्याप्त मल नपाउनु सामान्य हो ।
नेपालमा हाल ७ लाख मेट्रिक टन भन्दा बढी रासायनिक मलको माग छ र यो माग प्रत्येक वर्ष बढ्दो छ । धान बालीको लागि मात्र प्रत्येक बर्ष १ लाख २० हजार टन भन्दा बढी युरिया मल आवश्यक पर्छ । रासायनिक मलमा नेपाल पूर्णरुपमा आयातमा निर्भर छ । रासायनिक मलको परनिर्भरता कम गर्न सरकारले हालका वर्षमा स्वदेशमै युरिया मलको कारखाना स्थापना गर्ने गरी काम पनि अगाडि बढाएको छ ।
युरिया मलको लागि चाहिने मुख्य कच्चा पदार्थमा हाइड्रोजन, कार्बनडाइ अक्साइड र नाइट्रोजन हुन् । जसमध्ये कार्बनडाइ अक्साइड र नाइट्रोजन हावामा पाइन्छ तर हाइड्रोजन पाइदैन । हाइड्रोजन उत्पादनको लागि ३ विकल्पमध्ये एउटा विकल्प रोज्नु पर्ने हुन्छ । पहिलो विकल्प भनेको मिथेन र पानीको प्रतिक्रियाबाट हाइड्रोजन निकाल्ने दोस्रो भनेको कोइलाको प्रयोगले पानीबाट हाइड्रोजन निकाल्ने र तेस्रो विकल्पमा बिजुली प्रयोग गरी इलोक्ट्रोलाइसिस प्रविधिबाट हाइड्रोजन निकाल्ने ।
माथि उल्लिखित पहिलो २ विकल्पमा प्रयोग हुने कच्चा पदार्थ आयातमा भर पर्ने भएकोले दिगो नहुन सक्छ । तेस्रो विकल्प भनेको बिजुली हो, जुन नेपालको सन्दर्भमा दिगो र भरपर्दो हुन सक्छ । नेपाल अहिले बिजुलीमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगिसकेको छ । वर्षा याममा अहिले नै बिजुली खपतभन्दा उत्पादन बढी भएर खेर जाने स्थिति छ ।
हालको बिजुली खपत र उत्पादन अनुपातलाई प्रक्षेपण गर्दा आगामी सन् २०२८ मा नेपालको करिब ३५ सय मेगावाट बिजुली खेर जाने अवस्था छ । तर स्थापना गर्ने भनिएको युरिया मलको कारखानाको लागि चाहिने मुख्य कच्चा पदार्थ हाइड्रोजन उत्पादनको लागि मिथेन ग्यास हो । युरिया मलको उत्पादनमा मिथेनको प्रयोग वातावरणमैत्री नभएको कारण शून्य कार्बन उत्सर्जनको लक्षमा नेपाल पछि पर्न सक्छ ।
त्यसो भए के नेपालमा बिजुली प्रयोग गरी व्यावसायिक रुपमा हाइड्रोजन ग्यासको उत्पादन र प्रयोग सम्भव छ ? यस दिशामा धुलिखेलस्थित काठमाण्डौं विश्वविद्यालयले गरेको एउटा अध्ययन प्रतिवेदन प्रस्थानविन्दु हुन सक्छ । विश्वविद्यालयले हरित हाइड्रोजन प्रयोगशाला स्थापना गरी नेपालको सन्दर्भमा हरित हाइड्रोजनको युरिया उत्पादनमा प्रयोग सम्भव रहेको जनाएको छ । विश्वविद्यालयले यस विषयमा हालै " हाइड्रोजन र नेपालमा युरिया मल उत्पादन" विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा हाल बिजुलीभन्दा प्राकृतिक मिथेन ग्यास प्रयोग गरी युरिया उत्पादन गर्दा निकै सस्तो पर्ने बताइयो । प्राकृतिक मिथेन ग्यास प्रयोग गरी युरिया उत्पादन गर्दा प्रति किलोग्राम उत्पादन लागत ३१ रुपैयाँ पर्न जान्छ । जबकि बिजुली प्रयोग गरी युरिया उत्पादन गर्दा प्रति किलोग्राम करिब ५० रुपैयाँ लाग्ने अध्ययनले देखाएकोबारे जानकारी गराइएको थियो ।
युरिया उत्पादनमा बिजुलीभन्दा मिथेन ग्यास सस्तो हुने अध्ययनले नै देखाइसकेपछि कसरी बिजुली प्रयोग गरी स्वदेशमै युरिया मल कारखाना बनाउन सम्भव छ ? विश्वविद्यालयका सहायक प्राध्यापक एवं हरित हाइड्रोजन टोलीका प्रमुख डा. विराजसिंह थापाले स्वदेशमै मल उत्पादन सम्भव रहेको बताउँछन् । मल कारखानाका लागि सहुलियत दरमा बिजुलीको भाउ प्रतियुनिट ३ रुपैयाँ कायम गर्न सकिएमा आयातित मिथेन ग्यासलाई विस्तापित गर्न सकिने अध्ययनले देखाएको डा. थापाले बताए ।
बिजुली खेर जानु भन्दा मल कारखानामा सदुपयोग गर्न सके स्वदेशमै हरित युरिया उत्पादन गर्न सम्भव रहेको थापाको भनाइ छ । साथै थापाले भविष्यमा विद्युत सस्तो हुँदै जाने प्रबल सम्भावना रहेकोले सरकारले अहिले देखि नै नीति बनाई कार्य अगाडि बढाउनु पर्ने बताए । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका एसोसियट डीन ब्रिजेश अधिकारीले नेपालमा हरित हाइड्रोजन उत्पादन प्राविधिक र आर्थिक रुपमा सम्भव बनाउन सकिने आधारहरु रहेको बताए ।
पेट्रोलिम पदार्थमा धनी राष्ट्र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)ले हालका वर्षमा सौर्य उर्जा बाट बिजुली निकाली सो बिजुलीलाई हरित हाइड्रोजन ग्यास उत्पादन गर्न अर्बौँ डलर लगानी गरिरहेका छन् । हाइड्रोजन ग्यासको प्रयोग इन्धनको रुपमा गाडी र हवाई जहाज लगायत अन्य साधनमा प्रयोग गर्न सकिने भएकोले यसको दीर्घकालीन रुपमा बहुप्रयोगको प्रचूर सम्भावना प्रष्ट छ । अन्त्यमा, धान बाली लगायत अन्य बालीमा समयमा मल हाल्न नपाउँदा हुने आर्थिक नोक्सानीलाई पनि तुलना गरी बिजुलीबाट निकालिने हाइड्रोजन ग्यासको सम्भाव्यताबारे अध्ययन अझ तीब्र बनाउनु पर्दछ ।