झर्रोवादी नेपाली लेखक तथा साहित्यकार तारानाथ शर्मा (ताना शर्मा) अब रहेनन् । ८९ वर्षको उमेरमा आज विहान बत्तीसपुतलीस्थित निवासमा उनको निधन भएको हो ।
भारतको बनारसमा अध्ययनका क्रममा बोलीचालीको शैलीको साधारण नेपाली भाषा प्रयोग गर्ने झर्रोवादी आन्दोलन भन्दै ताना शर्मा र उनका साथीहरुले बेग्लै लेखनशैली प्रयोगमा ल्याउका थिए । पछि नेपालमा उनले कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तक तयार पारेका थिए । ती पाठ्यपुस्तक पनि झर्रो नेपाली भाषामा भएकाले विद्यार्थीले रुचाएका थिए ।
भाषाविज्ञानमा अमेरिकाबाट पीएचडी गरेका हुनाले उनले विदेशी साहित्य र संस्कृतिका छनकहरु पनि नेपाली पाठ्यपुस्तकमा पस्किएका थिए । इलामको बरबोटेमा जन्मेका उनले संस्कृत र अंग्रेजी दुवै शिक्षा पाएको हुनाले नेपाली साहित्यलाई परिस्कृत बनाउन सकेको मानिन्छ । उनको लेखन प्रभावकै कारण पछिल्लो समयको नेपाली लेखन छरितो र बोधगम्य बनाउन सहयोग पुगेको मान्ने धेरै पारखी छन् ।
उपन्यास, निबन्ध, कविता र व्याकरणका क्षेत्रमा उनको योगदान छ । उनका एक सयभन्दा बढी कृति प्रकाशित छन् । "घनघस्याको उकालो काट्ता" र "बेलायततिर बरालिँदा" जस्ता निबन्ध उल्लेख्य कृति हुन् ।
झर्रो शब्द प्रयोग गर्दा आफ्नै थरमा समेत उनलाई ठेस लागेको थियो । उनले शर्माको श तालव्य नभै दन्त्य स लेखेका थिए । पछि सर्मा भनेको कुकुर्नीको छाउरो भन्ने अर्थ बुझेपछि फेरि शर्मा नै लेख्न थालेको कुरा उनले लेखहरुमा लेखेका थिए ।
उनी दि राइजिङ नेपालको प्रधानसम्पादक पनि भएका थिए । उनको सम्पादकीयका कारण तत्कालीन प्रतिनिधिसभाले उनलाई सदनमै झिकाएर स्पष्टिकरण लिएको थियो ।
केही वर्षदेखि उनी विस्मृतिले गाँज्ने रोग डिमेन्सियाबाट ग्रस्त थिए । उनमा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या पनि थियो ।