चार देशीय टी-२० क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । जितको लागि १ सय २८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन बनाउन सक्यो ।
नेपालको लागि दिपेन्द्र सिंह ऐरी सर्वाधिक २८ र असिफ शेखले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । आयरल्याण्डको लागि मार्क अदेर, सिमि सिंह, बेरी म्याकार्थीले र एन्डी म्याकब्रिनले समान २ विकेट लिए ।
यस अघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको आयरल्याण्डले निर्धारित २० ओभर खेली १० विकेटको क्षतिमा १२७ रन बनाएको थियो । आयरल्याण्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । यस्तै कर्टिस काम्फरले २०, एन्डी विलवार्नीयले १९ रनको योगदान गरे ।
आयरल्याण्डलाई मध्यम योगफलमा सीमित राख्न दीपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रच खर्चिएर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान सन्दिप लामिछाने, कमल ऐरी र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।
जियोर्ज डकरेललाई कुशल भुर्तेलको हातबाट क्याच आउट गरेसँगै सन्दिप टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुर्याउने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले २९ खेलमा सो किर्तिमान कायम गरेका हुन् ।
शृङ्खलाको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईसँग २५ रनले पराजित भएको थियो । नेपाललाई पराजित गरे पनि शृङ्खलामा युएईसँगै समान २ खेलमा जित निकालेका आयरल्याण्ड दोस्रो स्थानमा रह्यो । राम्रो रन रेटको आधारमा युएई शृङ्खला जित्न सफल भयो ।