अफगानिस्तानका तालिबान लडाकुहरू राजधानी काबुल पुगिसकेका छन्। विद्रोहीहरू राजधानी प्रवेश गरिसकेको त्यहाँको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले पनि स्वीकार गरिसकेको छ। अफ्गानिस्तानमा सुरक्षा दिइरहेका अमेरिकी तथा सम्बद्ध पश्चिममा सैनिकहरू अफगानिस्तानबाट हटाइए लगत्तै विद्रोही तालिबान लडाकुहरू एकपछि अर्को गर्दै सबै प्रमुख शहरहरू नियन्त्रणमा लिन सफल भैसकेका छन्। काबुलमा उनीहरू विरुद्ध कुनै सशक्त प्रतिकार हुन नसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
तालिबान नेताहरूले पनि काबुलमा कुनै आतङ्कित पार्ने गतिविधि नगर्न आफ्ना लडाकुहरूलाई निर्देश गरेका छन्। शहर छोडी जानखोज्नेहरूलाई नरोक्न पनि उनीहरूलाई निर्देश गरिएको छ। एउटा खबर अनुसार तालिबान नेतृत्वले लडाकुहरूलाई काबुल शहरको बाहिरी गेटहरूमा नै बस्न अह्राएको छ।
यसैबीच अफगान राष्ट्रपति असरफ गनीले राजीनामा गर्नसक्ने अडकल गरिएका समाचारहरू पनि आउन थालेकाछन्।
अमेरिका तथा सम्बद्ध देशहरूले आफ्ना नागरिक तथा दूतावासका कर्मचारीहरूलाई धमाधम स्वदेश फिर्ता गर्दैछन्। उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउनको लागि अमेरिकाले त्यहाँ भैरहेका १ हजार सैनिकका अतिरिक्त अन्य ४ हजार सैनिक खटाइसकेको छ। बेलायतले पनि आफ्ना ६०० सैनिक काबुल पठाएको छ।
तालिबान विद्रोहीहरूले एकपछि अर्को गर्दै प्रमुख स्थानहरू जित्दै गएपछि सुरक्षा खोज्दै सर्वसाधारणहरू ठूलो संख्यामा घरबस्ती छोडेर भागेका छन्। शरणार्थीहरूको संख्या ज्यादै ठूलो हुँदा मानवीय महाविपत्तिको अवस्था आउने भनी अधिकारवादी संस्थाहरूले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराइरहेका छन्।
तालिबानहरू शासन सत्तामा आएमा महिलाका स्वतन्त्रता कुण्ठित हुने कुरामा महिला अधिकारवादीहरूले चिन्ता जाहेर गरेका छन्।
यसैबीच अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनको निर्णय बुद्धिमत्तापूर्ण नभएको भनी उहाँको आलोचना हुन थालेको छ। अफगानिस्तानमा तालिबान बलियो भएपछि त्यहाँ अल कायदा र आइएस् जस्ता आतङ्ककारी संगठनहरूले पनि फष्टाउने मौका पाउने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। तर राष्ट्पनि बाइडनले भने अमेरिकी सैनिक अनन्तकालसम्म अफगानिस्तानमा बसिरहन नसक्ने भनी आफ्नो निर्णयको बचाउ गर्नुभएको छ। अमेरिकी तथा सम्बद्ध पश्चिमा राष्ट्रका सैनिहरू अफगानिस्तानमा २० वर्षसम्म सुरक्षा कार्यमा खटिएकामा हालै फिर्ता गरिएको थियो।