सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ फुटबल क्लबले संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही अवसरहरू शृंजना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।
११ औं मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युवा कुरियामाले बचाए । ३४ औं मिनेटमा नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रस बार माथिबाट बाहिरियो ।
६० औं मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा नीरज बस्नेत बललाई कनेक्ट गर्न सकेनन् । ६१ औं मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।
खेलको ७४ औं मिनेटमा एपीएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्य भागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा आभास लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । आभासले १८ यार्ड बक्सबाट गरेको प्रहार राजाबाबुले विफल पारिदिए ।
८४ औं मिनेटमा एपिएफले पेनाल्टी बक्सबाहिर फ्रिकिक पाएको थियो । एपीएफका कप्तान नवीन लामाले गरेको प्रहार राजाबाबुले बचाएका थिए ।
बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र एक खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ भने नवौं स्थानमा यथावत् छ । एपिएफले दुईमा जित, पाँचमा र तीनमा हार बेहोरेको छ ।