सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा शनिबार दुई पक्षबीच वार्ता भएको छ । उक्त पार्टीसँग यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन २० गते तीन बुँदै सहमति गरेको थियो ।
गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा र नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
वार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । साथै फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको उनले बताए ।
वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् । यसैगरी सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।
बैठकपछि नेकपाका प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिए । ‘आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ । हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन् । आशा छ छिटै निष्कर्ष निस्केला,’ प्रवक्ता विश्वकर्माले भने ।