यात्रुलाई हातैले लेखेर बसको टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बसको टिकट काट्न सुरु गरेको छ । नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्य अनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि यो बसपार्क सञ्चालनमा आएको हो।
टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोशाक लगाउनुका साथै परिचयपत्र पनि देखिनेगरी लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यमा र कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् । कम्युटर प्रणाली सञ्चालनमा ल्याएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ ।
नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ वटा टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रमा फैलिएको छ । ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटेल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो । बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर र क्याफे सञ्चालनमा ल्याइएको छ ।
विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि कोभिड-१९को पहिलो र दोस्रो लहरका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द रह्यो । विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।