ललितपुरको गोदामचौर ढुङ्गेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि श्रद्धालुहरू आकर्षित हुन थालेका हुन् ।
ढुङ्गेसाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्की दिनमा ५ देखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘आजकल काेरोनाका कारण केही भीड घटेको छ । दिनमा २ लाख १४ हजारसम्म चन्दा उठेको छ ।’
पछिल्लो समय मन्दिरमा भीड लाग्दा सवारी पार्किङ गर्न कठिन भएकाले व्यक्तिको खेतमा गाडी राख्नुपरेको उनको भनाइ छ । कार्कीका अनुसार मन्दिरमा दिनभरि नै दर्शनार्थीहरू आइरहन्छन् । दिनभर भजन गुञ्जिन्छ ।
गणेश, शिव, राम-सीता, सप्तऋषि, मुक्तिनाथ, भूदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । २०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख ५० हजार रुपैयाँ सङ्कलन भएपछि त्यसैबाट मुक्तिनाथ धाम निर्माण सुरु गरिएको स्थानीय रमेश के.सी.ले बताए ।
विभिन्न निकाय र दाताहरूको सहयोगमा १ करोड ३८ लाख रुपैयाँमा यो मन्दिर निर्माण गरिएको हो । मुक्तिनाथ दर्शन गर्न मुस्ताङसम्म जान नसक्नेका लागि यो धाम प्रख्यात हुँदै आएको छ ।
के.सी.का अनुसार यहाँ पिकनिक स्पट र कागबेनीको मन्दिर पनि निर्माण गर्ने योजना छ ।
५० वर्षअघि ढुङ्गेसाँघु एउटा व्यापारिक केन्द्र रहेको रमेश बताउँछन् । उनका अनुसार यही बाटो हुँदै काभ्रे, भक्तपुर, सिन्धुपाल्चोकलगायत ठाउँबाट दक्षिणतर्फ हेटौडा प्रवेश गर्ने मार्गसमेत थियो ।
यस क्षेत्रमा ठूल्ठूला ढुङ्गा पाइन्छन् । कृष्ण मन्दिर बनाउदा यहीँको ढुङ्गा लगेको जनश्रुति रहेको छ ।
विशङ्खु नारायणको थान नजिकै रहेको गायत्री कुण्डबाट बग्ने गोमती नदीमा ऐतिहासिक ठूलो ढुङ्गाको साँघु थियो । त्यो ढुङ्गा ९० सालको भूकम्पले खसेपछि त्यहाँ काठको साँघु राखिएको थियो । पछिल्लो समय यो ढुङ्गा संरक्षणका लागि पुलमा राखिएको छ ।
मुक्तिनाथ धाम निर्माणपछि ढुङ्गेसाँघुको जनजीवनमै परिवर्तन आउन थालेको कार्की बताउँछन् । उनका अनुसार मानिसहरूले मन्दिर आपपास पूजा पसल राख्न थालेका छन् भने फुटपाथका सामान बेच्नेहरूको पनि चहलपहल बढ्न थालेको छ । मन्दिरका कारणले गाँउलेहरुले आफैँ व्यावसायी बन्ने अवसर पाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन । आन्तरिक पर्यटकहरूको आकर्षणसँगै गाउँमा होमस्टे, होटलको आवश्यकता महसुस हुन थालेको छ ।