व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परीक्षण उडान गरिएको हो ।
फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलबाट फागुन ८ गतेदेखि व्यवसायिक उडान गरिने भएको छ । तारा एयरलायन्सले साताको एक दिन प्रत्येक आइतबार काठमाडौँ-इलाम-काठमाडौँ उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलायन्सबीच सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको सुनिश्चितता इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे नपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
हवाई सेवाबाट इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास इलाम नगरपालिकाले लिएको छ । फाल्गुननन्द-सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई समेत सहज हुनेछ ।
विमानस्थल बनाउन सुरु भएको १० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भएपनि विमानस्थल बनाउने निर्माणको काम भने त्यसको दश वर्षपछि अर्थात् २०६८ सालमा मात्रै सुरु भएको थियो ।