उद्योग व्यापार सङ्गठन रुपन्देहीले विलासिताका सामान आयातका लागि प्रतितपत्र खोल्दा मार्जिनमा पुनर्विचार गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।
भारतबाट सामान आयात गर्दा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्थाले मध्यम वर्गका व्यवसायी मारमा परेको गुनासो गर्दै सङ्गठनले सिद्धार्थनगर प्रादेशिक कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्र बैंकले २० वटा शीर्षकका विलासिताका बस्तु आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये २ वटा शीर्षकमा ५० प्रतिशत र अन्य वस्तुमा १०० प्रतिशत मार्जिन अग्रिम भुक्तानी बैङ्कमा राख्नुपर्ने व्यवस्था छ । यही प्रावधानले व्यवसायी मारमा परेको भन्दै व्यवसायीको साझा संस्था प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्शले सहज बनाउन माग गरेको हो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रञ्जना पौडेलमार्फत राष्ट्र बैङ्क केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै सङ्गठनले निर्णय पुनर्विचार वा समयसीमा निर्धारण गरिदिन माग गरेको हो ।
१०० प्रतिशत मार्जिन राख्दा बैङ्कमा धितो राखी वा अन्य सरसापटी गरी ब्याज भुक्तानी गर्न बैङ्कमा जम्मा गर्न समस्या रहेको सङ्गठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।
राष्ट्र बैङ्क केन्द्रीय कार्यालय विदेशी विनियम व्यवस्थापन विभागको एकीकृत परिपत्र २०७६ मा संशोधन गरी २०७८ पुस ५ गते राष्ट्र बैंकको परिपत्रको आधारमा २० वटा शीषर्कमा उल्लेखित सामग्री आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने व्यवस्थाले व्यवसायी मारमा परेको ज्ञवालीले बताए ।
राष्ट्र बैङ्कले देशमा विदेशी मुद्राको सञ्चिति घटेकोले पुसमा यो प्रावधान ल्याएको हो । व्यवस्था लागु भएदेखि भन्सारबाट ६० प्रतिशत आयात घटेको छ ।