अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामीका लागि पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् ।
पोखराको रामघाटस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको रु ७०० र निजीका लागि रु एक हजार लिने गरेको छ ।
तर अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको छ । बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ ।
आगामी फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै अब बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने स्वास्थ्यमन्त्री मधु अधिकारीले बताइन् ।
मन्त्री अधिकारीले भनिन्, “स्वास्थ्य सेवा प्रवाहका क्रममा रगतको आवश्यकता पर्ने बिरामी तथा दुर्घटनाका कारण रगत दिनुपर्ने व्यक्तिले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अब रगत निःशुल्क पाउनेछन् ।”
सरकारले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौताको तयारी गरेको छ । केही दिनमै हुने सम्झौतापछि सरकारको निर्णय कार्यान्वयनमा जानेछ ।
सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रले सेवाशुल्कवापत बिरामीसँग लिँदै आएको रकम अब प्रदेश सरकारले नै भुक्तानी गर्ने गरी सम्झौता हुने मन्त्री अधिकारीले बताइन् ।
“रक्तसञ्चारले बिरामीसँग लिँदै आएको सबै रकम सरकारले भुक्तानी गरेर जनतालाई निःशुल्क उपलब्ध गराउने हो ।” मन्त्री अधिकारीले भनिन्, “सो कार्यका लागि आवश्यक रकम सबै व्यवस्था गरिएको छ ।”
रगत निःशुल्क गर्दा वार्षिक कति खर्च लाग्छ अहिल्यै यकिन नभए पनि प्रदेशका सबै जिल्लामा गरेर वार्षिक करिब रु तीन करोड खर्च हुने अनुमान छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको बताउँदै सरकारको निर्णयले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने बताए ।
उनले भने, “रगत निःशुल्क हुनुपर्दछ भनेर केन्द्रबाट पहिलेदेखि नै माग गरेका थियौँ, रक्तदाताले पनि उठाउँदै आउनुभएको हो । हामीले रगत दिन्छौँ, रक्तसञ्चारले पैसा लिन्छ भन्ने भ्रम पनि रक्तदातामा थियो तर हामीले रगतको भन्दा पनि जाँचेको पैसा लिने गरेका हौँ । रगत चाहिने व्यक्तिलाई पैसा नचाहिने निर्णय धेरै राम्रो छ ।”
रक्तसञ्चार केन्द्रमा सेवा शुल्कवापत बार्षिक करिब दुई करोड ६० लाख रुपैयाँ सङ्कलन हुने गरेको बताइएको छ । गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताइन्छ ।