अघिल्लो वर्षको वैशाख ३१ देखि दार्चुलाको व्याँस गाउँपालिका-१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थिति गराइएको हो ।
सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट ( बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्यो । सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म स्थापना भयो ।
भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं. १ सम्म रेखदेख गर्ने गर्छ ।
छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन् ।
छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भायानेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयहरू जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।
सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा हुँदा मात्रै त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।
सुरक्षाकर्मीले कुनै खबर गर्नुपर्यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ ।
विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयले भने, “अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।” ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन ।
छाङ्गरुमा नमस्तेको टावर निर्माण गर्न थालेको दुई वर्ष भयो । तर आवश्यक उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न सकेकोे छैन ।
गत साताको हिमपातले गर्दा अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । कहिलेकाहीँ सामाजिक सञ्जालका गतिविधिबारे बुझ्न र कुनै खबर घरमा पुर्याउनुपर्यो भने भारतीय एसएसबीको क्याम्प पुग्ने गरेको त्यहाँ कार्यरत एकजना सुरक्षाकर्मीले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।”