प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थपिएका ८ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार शपथ ग्रहण गराए । आज थपिएका मन्त्रीहरूमा नेपाली कांग्रेसबाट ३, नेकपा एकीकृत समाजवादीबाट ३ र माओवादी केन्द्रबाट २ जना रहेका छन् ।
योसँगै प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ । जसमा १३ जना मन्त्री र १ जना राज्यमन्त्री रहेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा मुख्यमन्त्री राईको दल नेकपा एकीकृत समाजवादीबाट राजन राईले सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बुले पर्यटन तथा संस्कृति मन्त्रालय र उपेन्द्र घिमिरेले यातायात व्यवस्था तथा सञ्चारमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट रामकुमार राईले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र झलकबहादुर मगरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट शेखरचन्द्र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, प्रकाशप्रताप हाङ्गामले उद्योग, श्रम तथा रोजगार मन्त्रालय र ओमप्रकाश सरावगीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर १३ पुर्याउँदै प्रदेश १ मा १४ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको हो ।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दल मिलेर सरकार बनाएका छन् ।