कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनीहरुको तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन लागेको जानकारी दिए ।
“हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन”, मुख्यमन्त्री शाहीले भने, “भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ ।”
त्यहाँको अवस्था बुझेका तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित भएर चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले बताए ।
शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनिमा गरी ५५ जना हिउँमा फसेका छन् । शाहीकी बुहारी जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । उनीहरु सेतक चिनी (खिरौंला) सङ्कलन गर्न त्यहाँ गएका हुन् ।
हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकोप्टरबिना खाद्य सामग्री त्यहाँ पुर्याउन नसकिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताएका छन् ।