संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन् ।
समितिको ६९औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशालामा आयोजित निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो घोषणा गरेका हुन् ।
समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा सहयोग गर्दै आएको र उक्त सेवामा थप विस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने उनले बताए ।
उनले भने, “सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु ।”
मन्त्रालयअन्तर्गत भएका विकृति, विसङ्गतिबारे आफूलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री आलेले भने, “सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो बाचा भयो ।”
उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका नागरिकलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको थियो ।