हिमाल चढ्नु सजिलो काम होइन । हिमाल चढ्नलाई स्वस्थ, सवल शरीर र दृढ साहस पनि चाहिन्छ । आम बुझाइ यही हो । तर यतिवेला कास्कीका एकजना होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्मा) विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने योजनामा लागेका छन् ।
कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनार २८ वर्षका छन् । उनको शरीरको उचाई ३ फिट ६ इन्च र तौल ३५ किलोग्राम छ । उनको शरीरको तुलनामा टाउको ठूलो छ भने पैताला पनि बाङ्गिएका छन् ।
“सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ”, सुनारले भने, “होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु ।”
सगरमाथा आरोहणको पूर्वतयारी स्वरूप उनले दोलखा जिल्लास्थित ५ हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणमा ठूलो खर्च लाग्ने हुँदा यसको लागि आर्थिक सहयोग गरिदिन उनले सबैसँग हार्दिक अपिल गरेका छन् ।
आरोहणका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । हालसम्म रु १० लाखभन्दा बढी खर्च भईसकेकोआरोहण अभियानमा जुटेका उनका दाजु सुरेश सुनारले जानकारी दिएका छन् ।
आफ्नी दिदी उर्मिलाकी साथी कान्छीमाया तामाङबाट प्रेरणा पाएर आफूले हिमाल आरोहणको योजना बनाएको सुनारले बताए । २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमान कायम गरेका पेम्मादोर्जे शेर्पाकी श्रीमती हुन् कान्छीमाया ।
आरोही पेम्मादोर्जेकै साथमा एउटै टोलीमा सहभागी भएर सगरमाथा चढ्न लागेका हुन् सागर सुनार । आगामी वैशाखमा राष्ट्रिय झण्डा लिएर सगरमाथा आरोहण गर्ने तयारी उनको छ ।
सुनारको सगरमाथा आरोहण अभियानमा गाउँपालिकाले साथ र सहयोग दिने बताएको छ । सुनारको यो अभियान गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सहयोगका लागि गाउँपालिकाले सर्वपक्षीय भेला गरेको थियो ।
भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले नेपालकै गौरव बढाउने यस अभियानलाई आ-आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरुपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनारको यो अभियानमा सघाउनका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० जनाको सहयोग समिति गठन गरिएको छ ।