सरकारले बङ्गबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् ।
उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो ।
कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, -“यहाँहरूले भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो, त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीले भलिबललगायतका अन्य खेलकुद गतिविधिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासमक्ष अनुरोध गरे ।
कार्यक्रममा महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदका पूर्वाधार विकास तथा खेलाडी सेवा सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गरिन् । साथै खेलकै क्रममा घाइते भएकी भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन उनले सरकारलाई आग्रह गरिन् ।
सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबल टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गरेको छ ।
सम्मानित हुने खेलाडीमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनीता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी छन् ।